Banijya News

सार्वजनिक खरिद ऐनको संशोधन अघि बढ्दा निजी क्षेत्र उत्साही

1
1.2K Shares

सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि गठन गरेको कार्यदलको निजी क्षेत्रले स्वागत गरेका छन् । निर्माण व्यवसायी महासंघको २६ औँ साधरणसभामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्यदलको स्वागत गरेका हुन् । अव्यवहारिक ऐनलाई दुई तिहाइ जनादेश प्राप्त सरकारले परिमार्जन गर्नु स्वागतयोग्य रहेको महासंघका अध्यक्ष ढकालले बताए ।

ऐन संशोधनले निर्माण क्षेत्रसँग सम्बन्धित धेरै समस्या समाधानमा सहयोग पुग्ने उनले बताए । ”सार्वजनिक खरिद ऐन परिमार्जनका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई दिएको सुझावअनुसार कार्यदल बनेर संशोधन गरिँदैछ । सरकार गठनको एक साता नहुँदै भएको पहल निकै स्वागतयोग्य छ,” उनले भने । यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका सिंहले ऐन संशोधनको चासो सकारात्मक रहेको बताए । सरकारले ३० दिनभित्रै सार्वजनिक खरिद ऐनसहित पूर्वाधार क्षेत्रलाई प्रभावित गर्ने सबै कानुन परिमार्जनका लागि समिति गठन गर्न देखाएको तदारुकता प्रशंसनीय भएको उनले बताए ।

सार्वजनिक खरिद ऐन, २०६३ लागू भएदेखि नै पूर्वाधारमैत्री ढंगले संशोधन नहुँदा निर्माण व्यवसायीहरूलाई धेरै मर्का परेका अब राहत हुने विश्वास सिंहले व्यक्त गरे । ”३० दिनभित्रै सार्वजनिक खरिदसहित पूर्वाधार क्षेत्रलाई प्रभावित गरेका सबै ऐन कानुन नियमहरूलाई परिमार्जन द्रुत गतिमा निर्माण व्यवसायीहरूको माग सम्बोधनको पहल भइरहेको छ,” उनले भने । सरकारको आग्रहपछि निर्माण व्यवसायीले कसैलाई पनि अतिरिक्त शुल्क नदिन निर्माण व्यवसायीलाई सर्कुलर जारी गरेको उनले बताए । सरकारबाट निर्माण व्यवसायीलाई सकारात्मक सहयोग प्राप्तिको महसुस भएको उनले बताएका छन् ।

1

Scroll to Top