Banijya News

राजस्व छलेर ल्याइएका २१ लाखका सामान बैतडीमा पक्राउ

1
1.1K Shares

सशस्त्र प्रहरी बलले बैतडीको पञ्चेश्वर गाउँपालिका-४, हल्दुबिनायक क्षेत्रबाट करिब २१ लाख रुपियाँ बराबरको अवैध किराना सामान बरामद गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले परिचालित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मको गस्ती टोलीले शङ्कास्पद अवस्थामा रहेका सवारी साधनहरू जाँच गर्ने क्रममा यो सफलता हात पारेको हो।

विशेष टोलीले खानतलासी गर्दा एक थान बोलेरो पिकअप र एक थान ट्रयाक्टरमा लोड गरिएका ठूलो परिमाणका किराना सामग्रीहरू फेला पारेको थियो। ओसारपसारका लागि आवश्यक पर्ने कुनै पनि कानुनी कागजात नभेटिएपछि प्रहरीले सामानसहित दुवै सवारी साधनलाई तत्काल नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि झुलाघाट भन्सार कार्यालयमा बुझाइएको छ। सीमावर्ती क्षेत्रमा पछिल्लो समय चोरी पैठारीका घटनाहरूमा वृद्धि भएपछि सुरक्षा निकायले आफ्नो सक्रियता र निगरानीलाई तीव्र बनाएको छ।

अवैध व्यापार रोक्नका लागि स्थानीय तह र सुरक्षाकर्मीबीचको समन्वयलाई अझ बलियो बनाइएको छ। यस घटनापछि सीमा नाकाहरूमा सुरक्षा जाँचमा थप कडाइ गरिएको र तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिइने सुरक्षा स्रोतले जनाएको छ।

1

Scroll to Top