Banijya News

सार्वजनिक खरिदमा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा

1
1.1K Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्य र आपूर्तिमा चरम लापरबाही गर्ने सातवटा व्यवसायी तथा परामर्शदाता कम्पनीहरूलाई कालोसूचीमा राख्दै कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरूले ती कम्पनीहरूले सम्झौताअनुसारको काम नगरेको र आयोजनाहरू अलपत्र पारेको भन्दै सिफारिस गरेपछि कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को प्रावधान बमोजिम यो कदम चालेको हो।

मंगलबार जारी गरिएको आधिकारिक सूचना अनुसार, कारबाहीमा परेका कम्पनीहरूले अब एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सरकारी ठेक्कापट्टा वा सार्वजनिक खरिदका कार्यक्रमहरूमा प्रतिस्पर्धा गर्न पाउने छैनन्। विशेषगरी नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको परामर्शदाता कम्पनी ‘एमरएस ईएलसी इलेक्ट्रोकन्सल्ट’लाई सबैभन्दा लामो अर्थात् दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ भने अन्य ६ वटा नेपाली निर्माण कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको छ।

एक वर्षको प्रतिबन्ध खेप्ने कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सन रहेका छन्। यी कम्पनीहरूले विकास निर्माणका कार्यमा ढिलासुस्ती गरेको वा गुणस्तरहीन कार्य गरी सार्वजनिक निकायलाई क्षति पुर्‍याएका कारण राज्यले यो कठोर निर्णय लिनुपरेको कार्यालयको ठम्याइ छ। यसरी कालोसूचीमा सूचीकृत भएपछि ती कम्पनी र तिनका सञ्चालकहरूले तोकिएको अवधिभर नेपालभरिका कुनै पनि सरकारी निकाय वा सार्वजनिक संस्थानहरूले आह्वान गर्ने बोलपत्र ९टेन्डर० मा सहभागिता जनाउन कानुनी रूपमै बन्देज लागेको छ।

सरकारको यो कदमले निर्माण क्षेत्रमा उत्तरदायित्व वहन नगर्ने र समयसीमा भित्र काम सम्पन्न नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समग्र सार्वजनिक निर्माण प्रणालीलाई थप व्यवस्थित र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

1

Scroll to Top