Banijya News

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1
1.0K Shares

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।त्यसैगरी, ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई तथा १७ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। यी सबै हिस्सा छुट्याएपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरेर अनलाइन आवेदन दिन पनि सकिनेछ।

कम्पनीको वित्तीय अवस्था तथा दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपालले ‘केयर–एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओमा सहभागी हुन चाहने लगानीकर्ताले आज बैंकिङ समयभित्र वा ‘मेरो शेयर’ प्रणालीमार्फत तोकिएको समयसीमाभित्र आवेदन दिनुपर्नेछ। आवेदन अवधि समाप्त भएपछि नयाँ आवेदन स्वीकार गरिने छैन।

1

Scroll to Top