नेपाल सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नियुक्त गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार नेप्से सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष लम्साल लामो समयदेखि निजामती सेवामा आवद्ध रही आर्थिक प्रशासन, राजस्व चुहावट नियन्त्रण तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा अब्बल पहिचान बनाएका कुशल प्रशासक हुन्। अर्थ मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत रहँदा उनले विभिन्न महत्त्वपूर्ण विभाग र महाशाखाहरूको नेतृत्व गरिसकेका छन्। विशेषगरी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक तथा विभिन्न कार्यालयहरूको प्रमुखका रूपमा काम गर्दा उनले वित्तीय अनुशासन, राजस्व प्रशासन सुधार र नीतिगत निरन्तरतामा उल्लेखनीय योगदान पुर्याएका थिए।
उनको यही प्रशासनिक दक्षता, आर्थिक क्षेत्रको गहिरो बुझाइ र लामो अनुभवलाई हेरेर सरकारले पूँजीबजारको नियामक निकाय नेप्सेको कमान्ड सुम्पिएको बुझिएको छ। यसअघि नेप्सेको अध्यक्ष पदमा हेमन्त बस्याल कार्यरत थिए। तत्कालीन सरकारले उनलाई तीन वर्षको निश्चित कार्यकालका लागि नियुक्त गरेको भए तापनि मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनसँगै उनले व्यक्तिगत कारण देखाउँदै गत वैशाख ४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। बस्यालले कार्यकाल पूरा नहुँदै अप्रत्याशित रूपमा पदत्याग गरेपछि विगत केही समयदेखि नेप्सेको नेतृत्वदायी भूमिका रिक्त रहँदै आएको थियो, जसका कारण नीतिगत निर्णयहरूमा समेत केही सुस्तता देखिएको थियो। रिक्त रहेको सोही गरिमामय पदमा सरकारले लम्साललाई जिम्मेवारी दिएसँगै नेप्सेले अन्ततः एक परिपक्व र व्यावसायिक नेतृत्व पाएको छ।
अमृत लम्सालको आगमनसँगै अब नेपालको पूँजीबजारले नयाँ गति लिने अपेक्षा लगानीकर्ता तथा सरोकारवालाहरूले गरेका छन्। पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको शेयर बजारको सुदृढीकरण, दोस्रो बजारको आधुनिकीकरण र थप प्रविधिमैत्री व्यवस्थापनका लागि नयाँ नेतृत्वको भूमिका चुनौतीपूर्ण र महत्त्वपूर्ण मानिएको छ। प्रशासनिक क्षेत्रमा उनको प्रशासनिक कडापन र नीतिगत स्पष्टता रहेकाले धितोपत्र बोर्ड ९सेबोन० र नेपाल राष्ट्र बैंक जस्ता नियामक निकायहरूसँग जीवन्त समन्वय बढाउन, बजारमा संस्थागत लगानीकर्ताको आकर्षण बढाउन तथा आम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न नयाँ अध्यक्ष लम्सालको कार्यकाल फलदायी हुने विश्वास लिइएको छ।


