Banijya News

बिमा पोलिसी सरेन्डर दर १७.५६ प्रतिशतले गिरावट, नवीकरण भएनन् १२ लाख पोलिसी

1
1.1K Shares

विगतका वर्षमा बढ्दो क्रममा रहेको जीवन बिमा पोलिसी सरेन्डर चालू आर्थिक वर्ष ०८२/८३ मा भने घटेको छ । चालू आर्थिक वर्ष ०८२/८३ पहिलो पाँच महिनामा १७.५६ प्रतिशतले बिमा सरेन्डर घटेको छ ।

गत आवभर एक लाख आठ हजार दुई सय ३८ पोलिसी सरेन्डर भएको थियो । गत आवको मंसिर मसान्तसम्म भने ४५ हजार ६० वटा पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणको तथ्यांक छ । चालू आवको मंसिर मसान्तसम्म भने ३७ हजार एक सय ४९ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

रकमका आधारमा पोलिसी बिमा सरेन्डर ६.८० प्रतिशतले घटेको छ । गत आवमा १५ अर्ब १५ करोड २१ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएको थियो । गत आवको पहिलो पाँच महिनामा ६ अर्ब १० करोड ७२ लाख लाख रुपैयाँको बिमा पोलिसी सरेन्डर भएको थियो । चालू आवको पाँच महिनामा भने पाँच अर्ब ६९ करोड २१ लाख रुपैयाँको बिमा सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

बिमितले पाँच वर्ष, १० वर्ष, १५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरेका हुन्छन् । त्यसका लागि वार्षिक रूपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधिभर बिमालाई निरन्तरता दिन नचाएमा बिमितले आवश्यक प्रक्रिया पूरा गरेर पोलिसी बन्द गर्न सक्नेछन् । बिमितले त्यही अवधिसम्म तिरेको बिमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउनेछन् । यद्यपि, त्यसमा केही शुल्क भने काटिनेछ । साथै, बिमा गरेको न्यूनतम तीन वर्ष पूरा भएको हुनुपर्ने सर्त पनि छ ।

पोलिसि सरेन्डर नियमित प्रक्रिया पनि हो । विगतमा आर्थिक शिथिलताका कारण बिमालेख सरेन्डर बढ्दै आएको थियो । तर, अहिले बिमा सरेन्डर घट्न थालेको तथ्यांकले पुष्टि गरेको छ ।

समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले ७८ अर्ब ७७ करोड ५८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । त्यसको ७.२२ प्रतिशतको अनुपात रकममा पोलिसी सरेन्डर भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार १२ लाख २० हजार चार सय १५ वटा पोलिसी नवीकरण नभई व्यतीत भएर बसेका छन् । यस्तो पोलिसीको संख्या ०.४९ प्रतिशतले बढेको छ ।

गत आवको चैतसम्म यस्तो पोलिसीको संख्या १२ लाख १४ हजार पाँच सयवटा थियो । चालू आवको मंसिर मसान्तसम्म आउँदा त्यो १२ लाख २० हजार चार सय १५ पुगेको हो । त्यसको रकम भने ३७ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ छ । रकमका आधारमा व्यतीत बिमालेख ४.४२ प्रतिशतले बढेको छ । गत आवको मंसिरसम्म यस्तो रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ छ ।

बिमितले वार्षिक रूपमा तोकिएको बिमाशुल्क कम्पनीलाई तिर्नुपर्छ । तर, बिमितले त्यस्तो बिमालेख सरेन्डर गरेनन् र बाँकी किस्ता पनि तिरेनन् भनेर व्यतीत भएर बसेको हुन्छ । व्यतीत भएपछि बिमालेखले बिमितको जोखिम रक्षावरण गर्दैन । यद्यपि, बिमितले कुनै पनि वेला बक्यौता तिरेर बिमालेख सक्रिय बनाउन सक्नेछन् । तीन वर्षको किस्ता तिरिसकेको अवस्थामा पोलिसी बन्द गरेर बिमितले आफूले पाउनुपर्ने रकम भुक्तानी लिन पनि सक्नेछन् ।

1

Scroll to Top