Banijya News

एडीबीको दक्षिण एशिया विभाग महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

1
1.1K Shares

एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एशिया विभाग हेर्ने महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाली नागरिक श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा बैंकको रणनीति तथा कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्ने गरी माघ २९ गते महानिर्देशक नियुक्त गरेको बैंकले बताएको छ ।

सोनासँग एडीबीमा २३ वर्ष काम गरेको अनुभव छ । उनले एडीबीको दक्षिण एशिया विभागमा उप-महानिर्देशक, स्वतन्त्र मूल्यांकन विभागमा उप-महानिर्देशक, सहायक सचिव, दक्षिण-पूर्व एशियाका लागि वित्तीय तथा व्यापार महाशाखा निर्देशक र इन्डोनेशियाका लागि उपदेशीय निर्देशकको जिम्मेवारी सम्हालिसकेकी छन् । उनले एशियाका धेरै देशमा काम गरेर अन्तरराष्ट्रिय स्तरको राम्रो अनुभव बटुलिसकेको एडीबीले बताएको छ ।

एडीबीले दक्षिण एशिया विभाग महानिर्देशकको जिम्मेवारी दिएर आफूलाई सम्मानित गरेको महसूस भएको श्रेष्ठको प्रतिक्रिया छ । आफूले पाएको जिम्मेवारीलाई विकासशील सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरिन । २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव सँगालेकी श्रेष्ठलाई एक सफल नेतृत्वकर्ताको रूपमा समेत लिइन्छ ।

श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि तथा स्नातकोत्तर उपाधि प्राप्त गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरेकी छन् । सन् १९६६ मा स्थापना भएको एडीबीको मुख्य कार्यालय फिलिपिन्सको मनिलामा छ। एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, दिगो र उत्थानशील विकास प्रवर्द्धन गर्ने अग्रणी विकास बैंकका रूपमा एडीबी स्थापित छ ।

हालसम्म एडीबीका ६९ सदस्य राष्ट्र छन् । तीमध्ये ५० राष्ट्र एशिया–प्रशान्त क्षेत्रका छन् । नेपाल सन् १९६६ मा एडीबीको सदस्य बनेको हो । एडीबीले सदस्य राष्ट्र तथा साझेदारहरूसँग सहकार्य गर्दै नवीन वित्तीय साधन र रणनीतिक साझेदारीमार्फत जीवनस्तर सुधार, गुणस्तरीय पूर्वाधार निर्माण र वातावरण संरक्षणमा योगदान गर्दै आएको छ । नेपालमा एडीबीले विभिन्न ठूला आयोजनाहरूमा सहयोग गरेको छ । एडीबीले नेपालमा सडक तथा पुल निर्माण, जलविद्युत् आयोजना, खानेपानी तथा सरसफाइ परियोजनासँगै शिक्षा तथा स्वास्थ्य सुधार कार्यक्रममा महत्त्वपूर्ण योगदान गरेको बताएको छ । नेपालका ठूला विकास साझेदारमध्ये एडीबी पनि एक हो ।

1

Scroll to Top