Banijya News

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

1
1.1K Shares

मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन्। सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन्। यसअघिको संसद्‌मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन्।

प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक ठाउँमा जित हासिल गरेको छ। एक ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये १४ जना नयाँ अनुहार छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौमध्ये तीनजना नयाँ अनुहार छन्। नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीनजना सङ्घीय संसद्‌मा नयाँ अनुहार छन्। यो निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनैजना नयाँ अनुहार छन्। म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहार हुन्।

1

Scroll to Top