रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण शेयर (प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य) छुट्याइएको छ।
यो शेयरमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाहरूका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नं. १, २, ३ र दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ तथा ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यदि यो अवधिमा पूर्ण आवेदन नपरेमा आईपीओ माघ १२ गतेसम्म थप खुला रहन सक्छ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ छ। यो आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री भइरहेको छ।
आयोजनाको अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी छ। साधारण लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना र डिस्काउन्टेड लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको छ।
केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी (Issuer) रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जी आयोजना कार्यालय (गोरखा), प्रभु क्यापिटल (कमलादी), प्रभु बैंकको छेपेटार तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्।


