Banijya News

सांसद बन्न दौडधुपमा व्यापारी, को–को कहाँबाट ?

1
1.3K Shares

व्यापारिक क्षेत्रमा स्थापित भइसकेका प्रभावशाली व्यवसायीहरू यतिबेला राजनीतिक मैदानमा सक्रिय देखिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उद्योग, बैंकिङ, निर्माण, स्वास्थ्य, शिक्षा र सेयर बजारसँग सम्बन्धित पृष्ठभूमिका व्यवसायीहरू घरदैलो अभियानमा व्यस्त छन्। आर्थिक रूपमा सफल अनुहारहरू अब राजनीतिक नेतृत्वमा पुग्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेपालमा पछिल्ला केही निर्वाचनदेखि व्यवसायी पृष्ठभूमिबाट प्रत्यक्ष चुनाव लड्ने प्रवृत्ति बढ्दो छ । नीतिगत तहमा प्रभाव जमाउने चाहना, निजी क्षेत्रमैत्री कानुन निर्माणमा भूमिका खेल्ने अपेक्षा तथा सामाजिक–राजनीतिक प्रतिष्ठा विस्तार गर्ने उद्देश्यले धेरै व्यवसायीहरू राजनीतिमा प्रवेश गर्न अग्रसर भएका छन्। यसै सन्दर्भमा उद्योगपति तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी पुनः चुनावी मैदानमा सक्रिय छन्। गत निर्वाचनमा नवलपरासी–१ बाट प्रत्यक्षतर्फ विजयी भएका चौधरी यसपटक पनि विकास र आर्थिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाएर मतदातासँग भेटघाट गरिरहेका छन्।

चौधरीले विशेषगरी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका आयोजनाहरू अघि बढाइएको दाबी गर्दै उनले अधुरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याएका छन्। ‘हेभीवेट’ उम्मेदवारका रूपमा चिनिएका उनले विगतमा गरेका कामहरूको सूची प्रस्तुत गर्दै निरन्तरताका लागि मत मागिरहेका छन्।

सेयर बजारसँग आबद्ध व्यक्तिदेखि ठूला व्यापारी, उद्योगपति र बैंकरसम्म प्रतिनिधिसभा प्रवेशको होडमा देखिएका छन् ।

को–को कहाँबाट ?

नेपाली कांग्रेसबाट

  • विनोद चौधरी – नवलपरासी–१; उद्योगपति, पुनः चुनावी मैदानमा।
  • भरतराज ढकाल – स्याङ्जा–१; मुक्तिनाथ विकास बैंकका पूर्व सीईओ, ।
  • डा. सुनिल शर्मा – मोरङ–३; काठमाडौं मेडिकल कलेज र नोबेल शिक्षण अस्पतालका सञ्चालक l
  • चुन्नप्रसाद शर्मा पौडेल – रुपन्देही–२; यशोदा फुड्सका अध्यक्ष ।
  • अनिलकुमार रुंगटा – पर्सा–४; जगदम्बा इन्टरप्राइजेजसँग आबद्ध ।
  • मोहन आचार्य – रसुवा; निर्माण व्यवसायी, पुनः उम्मेदवार।
  • रमेशप्रसाद धमला – धादिङ–२; टानका पूर्वअध्यक्ष ।
  • तिलक रानाभाट – कास्की–१; वैदेशिक रोजगार तथा गार्मेन्ट व्यवसाय।
  • प्रकाशसिंह कार्की – सोलुखुम्बु; कार्गो व्यवसायी।

नेकपा (एमाले)बाट

  • मीनप्रसाद गुरुङ – स्याङ्जा–१; पूर्व बैंकर।
  • वीरेन्द्रकुमार कनौडिया – कपिलवस्तु–३; लुम्बिनी सुगर मिल सञ्चालक।
  • भगीरथ सापकोटा – नवलपुर–१; उद्योगी, व्यवसायी महासंघसँग आबद्ध।
  • पार्वत गुरुङ – दोलखा; जलविद्युत व्यवसायी, पूर्वमन्त्री।
  • कृष्णकुमार (किसान) श्रेष्ठ – बारा–४; होटल तथा निर्माण सामग्री व्यवसाय।
  • अमित लामा – काभ्रे–१; पार्टी प्यालेस व्यवसाय।
  • आङदोर्जे शेर्पा – सिन्धुपाल्चोक–१; सीमापार व्यापार।
  • पाल्देन छोपाङ गुरुङ – मनाङ; कृषि तथा पर्यटन व्यवसाय।
  • हीराबहादुर केसी – बागलुङ–२; ऊर्जा व्यवसाय।
  • खिमबहादुर थापा – स्याङ्जा–२; कापी उद्योग सञ्चालक।
  • हरिकृष्ण श्रेष्ठ – म्याग्दी; होटल व्यवसायी।
  • द्वारिका न्यौपाने – कैलाली–१; जलविद्युत व्यवसाय।
  • एलपी साँवा लिम्बू – झापा–४; म्यानपावर व्यवसायी।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

  • डोलप्रसाद (डिपी) अर्याल – काठमाडौं–९; म्यानपावर तथा पर्यटन व्यवसाय, उपसभापति।
  • डा. धनञ्जय रेग्मी – स्याङ्जा–१; पूर्व सीईओ, नेपाल पर्यटन बोर्ड।
  • अरविन्द साह – बारा–३; खल्ती सहसंस्थापक।
  • हरि ढकाल – चितवन–१; सेयर कारोबारी।
  • मनिष झा – धनुषा–३; तथ्यांक व्यवसायी।
  • पारसमणि गेलाल – उदयपुर–१; उद्योग विभाग सचिव, व्यवसायी।
  • आनन्दबहादुर चन्द – कैलाली–५; शिक्षा व्यवसायी।

अन्य दल तथा स्वतन्त्र

  • वीरेन्द्रप्रसाद महतो – सिरहा–४; उद्योगी।
  • धनबहादुर बुढा – हुम्ला; निर्माण व्यवसायी।
  • कर्णबहादुर बुढा – हुम्ला; व्यवसायी।
  • प्रेम आले – कैलाली–५; काठ व्यवसायी, पूर्वमन्त्री।
  • असीममानसिंह बस्नेत – काठमाडौं–१; पठाओ सञ्चालक (स्वतन्त्र)।
  • ज्योत्सना सैँजू – काभ्रे–२; होटल व्यवसायी, उज्यालो नेपाल पार्टी।

भरतराज ढकाल
मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका भरतराज ढकाल स्याङ्जा–१ बाट कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् ।

विशेषगरी उनले कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएका छन् । बैंकिङ क्षेत्रको अनुभव र उद्यमशील सोच बोकेर राजनीतिमा प्रवेश गरेका ढकालले अर्थतन्त्र, विशेषगरी कृषि क्षेत्रको संरचनात्मक सुधारमा योगदान दिने अपेक्षा गरिएको छ ।

मीनप्रसाद गुरुङ
स्याङ्जा–१ बाटै नेकपा एमालेबाट मीनप्रसाद गुरुङ चुनावी मैदानमा छन् । उनी पूर्व बैंकर हुन् । स्याङ्जाको समग्र विकासमा ‘संकल्प पत्र’ तयार गर्दै उनी चुनावी अभियानमा छन् ।

डिपी अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. ९ मा उम्मेदवार बनेका डोलप्रसाद (डिपी) अर्यालको पृष्ठभूमि पनि व्यवसाय हो । उनी म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सव्रिmय छन् । उनी रास्वपाका उपसभापतिसमेत हुन् ।

डा.सुनिल शर्मा

मोरङ–३ बाट कांग्रेसको टिकट पाएका डा.सुनिल शर्मा चर्चित मेडिकल व्यवसायी हुन् । उनी काठमाडौं मेडिकल कलेज र नोबेल शिक्षण अस्पतालका सञ्चालक हुन् । मोरङ ३ मा २०७९ को आम निर्वाचनमा पनि डा. शर्मा विजयी भएका थिए । जसमा उनले एमालेका भानुभक्त ढकाललाई ठूलो मतान्तरले पराजित गरेका थिए । स्थानीय मतदाताहरूले उनलाई स्वास्थ्य र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने नेता मान्छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारहरूलाई निरन्तर नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता दोहोर्‍याएका छन् ।

डा.धनञ्जय रेग्मी

स्याङ्जा–१ मै रास्वपाबाट टिकट पाएका डा.धनञ्जय रेग्मी चुनावी मैदानमा छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । सो क्षेत्रका चिनिएका व्यवसायी पनि हुन् । देश बनाउन भन्दै उनी मतदाताको घरदैलोमा चुनावी अभियानमा छन् ।

चुन्नप्रसाद शर्मा पौडेल

करेन्टलगायतका चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् । उनले रुपन्देहीकै अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल बुटवल हस्पिटल प्रा.लि.मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गराएका छन् । उनकै नेतृत्वमा बुटवलकै पहिलो ५ तारे होटेल ‘ह्यात प्यालेस’ सञ्चालनमा रहेको छ ।

उनले नेतृत्व गरेका उद्योग व्यवसायहरूमा ५ हजार भन्दा बढी नेपालीले युवाहरूले रोजगारी पाएको उनको दाबी छ । संसदमा पुगेपछि राष्ट्र र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने पौडेलको प्रतिवद्धता छ ।

अनिलकुमार रुंगटा

कांग्रेसबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन् । उनी खासगरी स्टिल तथा पाइप उत्पादनमा संलग्न जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन् । रुङटा सो क्षेत्रको समग्र विकासका लागि रोजगारी सिर्जना, सीपमूलक शिक्षा, स्टार्टअप र उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा तथा डिजिटल पूर्वाधार विस्तार आफ्ना प्रमुख एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

मोहन आचार्य

कांग्रेसकै तर्फबाट रसुवामा उम्मेदवार बनेका मोहन आचार्य निर्माण व्यवसायी हुन् । उनी पनि यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । आचार्य २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित थिए । उक्त निर्वाचनमा १८ हजार २ सय ३५ मत ल्याएर एमालेका छोवाङ तेन्जिन तामाङलाई उनले फराकिलो मतान्तरले हराएका थिए ।

वीरेन्द्रकुमार कनौडिया

नेकपा (एमाले) का तर्फबाट लुम्बिनी सुगर मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडियाले कपिलवस्तु क्षेत्र नं. ३ बाट चुनावी मैदानमा छन् । उनी बैंकिङ व्यवसायमा पनि आबद्ध छन् ।

रमेशप्रसाद धमला

नेपाली कांग्रेसका तर्फबाट धादिङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका रमेशप्रसाद धमला पर्यटन व्यवसायी हुन् । उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष हुन् । आफूले विगतमा पर्यटन क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याएको दाबी गर्दै धमलाले अब मुलुकको समग्र परिस्थति सुधार्नका लागि राजनीतिमा होमिएको उनले बताएका छन् ।

तिलक रानाभाट

कांग्रेसबाट कास्की–१ बाट तिलक रानाभाट चुनावी मैदानमा छन् । राजनीतिसँगैवैदेशिक रोजगार व्यवसायीका रूपमा पनि रानाभाटको लामो अनुभव छ । रानाभाट गार्मेन्ट उद्योगमा समेत आबद्ध छन् ।

किरणकिशोर घिमिरे

दाङ–२ बाट उम्मेदवार बनेका किरणकिशोर घिमिरे पनि व्यवसायिक पृष्ठभूमिका हुन् । घिमिरेको जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धक भएर १८ वर्ष काम गरेको अनुभव छ । दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् ।

वीरेन्द्रप्रसाद महतो
जनमत पार्टीबाट सिरहा–४ मा उम्मेदवारी दर्ता गराएका वीरेन्द्रप्रसाद महतो निजी क्षेत्रमा परिचित नाम हुन् । उनी अर्बपति उद्योगी उपेन्द्र महतोका भाइ हुन् ।

एलपी साँवा लिम्बू
म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू झापा–४ मा नेकपा (एमाले) का तर्फ चुनावी मैदानमा छन् । साँवा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशसिंह कार्की
कांग्रेसले सोलुखुम्बुबाट टिकट पाएका प्रकाशसिंह कार्की पनि चुनावी मैदानमा रहेका छन् । उनी कार्गो व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य समेत रहेका थिए ।

भगीरथ सापकोटा

नवलपुर–१ बाट एमाले उम्मेदवार बनेका भगीरथ सापकोटा व्यवसायी हुन् । उनी सोही पार्टीको भ्रातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष समेत हुन् ।

पार्वत गुरुङ

दोलखामा जलविद्युत् व्यवसायी पार्वत गुरुङ एमालेबाट फेरि चुनावी मैदानमा छन् । उनी पूर्व सञ्चार तथा सूचना मन्त्री समेत हुन् ।

कृष्णकुमार (किसान) श्रेष्ठ

नेकपा एमाले बारा–४ बाट उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठ सिमरामा होटल, अपार्टमेन्ट र निर्माण सामग्री व्यवसायमा आबद्ध छन् । उनी निर्वमान सांसद तथा पूर्वमन्त्री समेत हुन् ।

अमित लामा

नेकपा एमाले काभ्रे–१ बाट अमित लामा चुनावी मैदानमा छन् । उनी पार्टी प्यालेस र रात्रिकालीन व्यवसायमा आबद्ध छन् ।

आङदोर्जे शेर्पा

सिन्धुपाल्चोक–१ बाट एमालेको तर्फबाट आङदोर्जे शेर्पा चुनावी मैदानमा छन् । उनी सीमापार व्यवसायी हुन् ।

पाल्देन छोपाङ गुरुङ

मनाङबाट एमालेका पाल्देन छोपाङ गुरुङ चुनावी मैदानमा छन् । उनी कृषि र पर्यटन व्यवसायी हुन् ।

हीराबहादुर केसी

बागलुङ–२ बाट एमालेबाट हीराबहादुर केसी उम्मेदवार छन् । उनी ऊर्जा व्यवसायी हीराबहादुर केसी र मोरङ–२ बाट जुत्ता–चप्पल व्यवस हुन् ।

खिमबहादुर थापा

स्याङ्जा–२ बाट एमालेका खिमबहादुर थापा चुनावी मैदानमा छन् । उनी कापी उद्योग सञ्चालक हुन् ।

हरिकृष्ण श्रेष्ठ

म्याग्दीबाट एमालेका हरिकृष्ण श्रेष्ठ चुनावी मैदानमा छन् । उनी होटल व्यवसायी हुन् ।

द्वारिका न्यौपाने

कैलाली–१ बाट एमालेबाट द्वारिका न्यौपाने चुनावी मैदानमा होमिएका छन् । उनी जलविद्युत व्यवसायी हुन् ।

धनबहादुर बुढा र कर्णबहादुर बुढा

हुम्लामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा चुनावी मैदानमा छन् । उनी पेसाले निर्माण व्यवसायी हुन् । उनी यसअघि २०७०, २०७४ र २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका व्यवसायी हुन् । त्यस्तै, यस क्षेत्रमा कांग्रेसबाट भिड्दै गरेका कर्णबहादुर बुढा उनकै सहोदर भाइ हुन् । उनी पनि व्यवसायी हुन् ।

यस्तै रास्वपाबाट बारा–३ खल्तीका सहसंस्थापक अरविन्द साह र चितवन–१ मा सेयर कारोबारी हरि ढकाल चुनावी मैदानमा छन् ।

रास्वपाका प्रवक्ता मनिष झा धनुषा–३ मा उम्मेदवार छन् । उनी तथ्यांक व्यवसायी समेत हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् ।यस्तै,रुपन्देही–२ बाट यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल चुनावी मैदानमा छन् ।

रास्वपाबाट उदयपुर–१ मा उम्मेदवार बनेका पारसमणि गेलाल व्यावसायिक हुन् । उनी पार्टीमा उद्योग विभाग सचिवका रूपमा समेत कार्यरत छन् ।

त्यस्तै, कैलाली–५ मा रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द पनि व्यवसायी हुन् । उनी शिक्षा क्षेत्रमा आबद्ध छन् । उनी चितवनको बोस्टन इन्टरनेसनल कलेज तथा अंकुरम स्कुलका अध्यक्ष हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट कैलाली–५ मा उम्मेदवार बनेका प्रेम आले काठ व्यवसायी हुन् । दुईपटक सांसद भइसकेका आले पूर्वमन्त्री पनि हुन् ।

स्वतन्त्रतर्फ काठमाडौं–१ मा पठाओका सञ्चालक असीममानसिंह बस्नेत र उज्यालो नेपाल पार्टीबाट काभ्रे–२ मा होटल व्यवसायी ज्योत्सना सैँजूले उम्मेदवार छन् ।

काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजूले उम्मेदवारी दर्ता गरेकी छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी सैँजूले उम्मेदवारी दर्ता गरेकी हुन् । कम्प्युटर इन्जिनियर रहेकी उनी होटल व्यवसायी पनि हुन् । उनी युवा उद्यमी मञ्च (एनवाईइएफ) काभ्रे च्याप्टरको निवर्तमान अध्यक्ष समेत हुन् ।

1

Scroll to Top