Banijya News

चुनावी प्रचारका लागि उम्मेदवारले मेटालाई तिरे एक करोड, कसले कति ?

1
1.1K Shares

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दलका आधिकारिक पेज, उम्मेदवारका निजी पेज तथा समर्थक समूहहरूले फेसबुक विज्ञापनमार्फत व्यापक प्रचारप्रसार गरेका छन्। मेटाको एड लाइब्रेरीबाट प्राप्त तथ्यांकअनुसार नेपालबाट ९० दिनको अवधिमा फेसबुक विज्ञापनमा कुल १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको देखिन्छ।

नेपाल राष्ट्र बैंकको फागुन २७ गतेको प्रतिडलर १४७.२० रुपैयाँ विनिमयदरका आधारमा यो रकम करिब १ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबर हुन्छ। उक्त रकमबाट फेसबुकमा ९ हजार ७९ वटा विज्ञापन प्रकाशित भएको देखिएको छ। सबैभन्दा धेरै खर्च गर्ने सूचीमा ‘मेरो आवाज काउन्ट’ नामक फेसबुक पेज पहिलो स्थानमा रहेको छ। उक्त पेजले तीन महिनाको अवधिमा १२८ वटा विज्ञापनका लागि ४ हजार ४२३ अमेरिकी डलर खर्च गरेको देखिन्छ।

नेपालबाट ९० दिनमा फेसबुकमा गरेको विज्ञापनमा १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको देखिन्छ । यसलाई नेपाल राष्ट्र बैंकको फागुन २७ गतेको विनिमयदर प्रतिडलर १४७.२० ले गणना गर्दा करिब १ करोड ५५ लाख ७८ हजार ४७० रुपैयाँ हुन पुग्छ । उक्त रकमबापत फेसबुकमा ९ हजार ७९ विज्ञापन भएको देखिन्छ । निर्वाचनपछि उमेदवारहरूले धमाधम चुनावको खर्च विवरण बुझाइरहेका छन् । तर, उक्त विवरणमा फेसबुकमार्फत भएको विज्ञापन खर्चबारे खुलेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित गरी विभिन्न उमेदवारहरूको प्रचार सामग्री ‘मेरो आवाज काउन्ट’ नामक फेसबुक पेजमार्फत अत्याधिक खर्चिएर प्रचारप्रसार भएको देखिन्छ । विगत ३ महिनाभर सबैभन्दा बढी खर्च गर्ने सूचीको पहिलो स्थानमा ‘मेरो आवाज काउन्ट’ देखिन्छ । जसले यसअवधिमा १२८ वटा विज्ञापनका लागि ४ हजार ४२३ अमेरिकी डलर खर्च गरेको छ ।

इस्तै, डा. अजय क्रान्ति शाक्यले फेसबुकमार्फत निर्वाचनलक्षित प्रचारमा २६५ वटा विज्ञापन गरे । उनले अजय क्रान्ति फलोअर्स फेसबुक पेजमार्फत गरेको उक्त प्रचारमा मात्रै ४ हजार ४३ अमेरिकी डलर खर्च गरेका छन् । यो नेपाली रुपैयाँमा उक्त विनिमयदरअनुसार, ५ लाख ९५ हजार १२९ रुपैयाँ पुग्छ । यसपछि साझा पार्टीले ५५ वटा विज्ञापनका लागि ३ हजार १९९ डलर खर्चेको छ । जुन नेपाली रुपैयाँमा ४ लाख ७० हजार ८९२ हुन आउँछ ।

डा. शाक्यले नेकपा (एमाले) बाट काठमाडौं क्षेत्र नम्बर ९ मा उमेदवारी दिएका थिए । तर, उनी पराजित भए । उक्त क्षेत्रमा रास्वपाबाट डीपी अर्याल निर्वाचित भए । अर्यालको सचिवालयले पनि फेसबुकमार्फत ३३२ अमेरिकी डलर खर्चेको देखिन्छ । यो नेपाली रुपैयाँमा ४८ हजार ८७० रुपैयाँ हुन आउँछ । तर, यसबाहेक विभिन्न फेसबुक पेजहरूमा पनि उनको प्रचारप्रसार भएको देखिन्छ ।

निर्वाचनमा होमिएका स्थापित नेताहरूले पनि डिजिटल माध्यमलाई प्राथमिकता दिएको देखिन्छ । जसमा नैनसिंह महरले २ हजार ७३९ डलर खर्चेका छन् । जुन ४ लाख ३ हजार १८० रुपैयाँ बराबरको हो । कांग्रेसका महरले डडेलधुराबाट उमेदवारी दिएका थिए । उनले प्रचारप्रसारका लागि फेसबुकमार्फत उक्त रकम खर्चिए पनि जित निकाल्न सकेनन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट उमेदवारी दिएका थिए । प्रधानमन्त्रीका लागि गगन नामक पेजले ३६० डलर खर्चेको देखिन्छ । उक्त पेजमा ५२ हजार रुपैयाँ हाराहारीमा खर्च भएको थियो । उनलाई केन्द्रित गरेर उक्त रकम खर्चिए पनि उनी पराजित भए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक पेजले ४५१ डलर खर्चेको विवरणमा उल्लेख छ । यो नेपाली रकममा करिब ६६ हजार रुपैयाँ हुन आउँछ । रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिटमा जित निकालेको छ । यद्यपि, रास्वपाका उमेदवारहरूले विभिन्न पेजहरूमार्फत सामाजिक सञ्जालहरूमा प्रचारप्रसार गरेको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेले पाल्पा–२ बाट उमेदवारी दिएका थिए । उनले फेसबुक विज्ञापनका लागि २ हजार ६६४ डलर खर्चेका थिए । जुन ३ लाख ९२ हजार रुपैयाँबराबर हो । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले कास्की–२ बाट उमेदवारी दिएका थिए । उनले २ हजार ५५८ डलर विज्ञापनमा खर्च गरेका थिए । यो ३ लाख ७६ हजार रुपैयाँ बराबरको खर्च हो । प्रचारप्रसारमा उक्त रकम खर्चिएका उनी पनि पराजित भए ।

यस्तै, नवलपरासीपश्चिम–१ बाट उमेदवारी दिएका नेपाली कांग्रेसका उमेदवार उद्योगपति तथा नेता विनोद चौधरीले फेसबुक पेजमा १ हजार ५० डलर खर्च गरेका थिए । यो रकम १ लाख ५० हजार बराबर हो । चौधरी पनि पराजित भए ।

यस्तै, नेकपाबाट धादिङ–१ का उमेदवार राजेन्द्रप्रसाद पाण्डेले १ हजार १६ डलर फेसबुक विज्ञापनमा खर्च गरेको तथ्यांकले देखाउँछ । जुन नेपाली रुपैयाँमा १ लाख ४९ हजार रुपैयाँ हाराहारी हो । यद्यपि, पाण्डेलाई रास्वपाकी उमेदवार आशिका तामाङले पराजित गरिन् । अन्य दलका चर्चित नेताहरूले फेसबुकमा विज्ञापन गरेका थिए । राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले सर्लाही–२ बाट उमेदवारी दिएका थिए । उनले फेसबुक विज्ञपनामा १ हजार ३४ डलर खर्चेका थिए । यो नेपाली रुपैयाँमा १ लाख ५२ हजार हाराहारीमा हुन आउँछ । महतो पनि पराजित भए ।

जनमत पार्टीका डा. सीके राउतको सचिवालयले पनि १४५ डलर खर्च गरेको देखिन्छ । यो नेपाली रुपैयाँमा २१ हजार रुपैयाँ हाराहारी हो । काठमाडौं–५ बाट उमेदवारी दिएकी गतिशिल लोकतन्त्रिक पार्टीकी निशा अधिकारी (कलाकार) ले फेसबुक प्रचारमा उल्लेख्य खर्चिए पनि पराजय व्यहोरिन् । उनले फेसबुक पेजबाट २७ वटा विज्ञापन गर्दा १ लाख ८० हजार रुपैयाँ हाराहारीमा खर्च भएको देखिन्छ ।

फेसबुक विज्ञापनमा उमेदवारहरूका साथै विभिन्न राजनीतिक अभियानका पेजहरूले पनि उल्लेख्य रकम खर्चेका छन् । क्षितिज थेबे र उनको जिताऔँ अभियानले कुल ४ हजार ६ सय डलरभन्दा बढी खर्च गरेको देखिन्छ । उज्यालो नेपाल पार्टीसँग सम्बन्धित विभिन्न पेजहरूले पनि देशका विभिन्न स्थानबाट विज्ञापन गरेका छन् । विज्ञापनको संख्याका आधारमा हेर्दा केही पेजहरू अत्यन्तै सक्रिय देखिएका छन् । अजय क्रान्ति अनुयायीका २६५ वटा विज्ञापन रहेका छन् । यता वीरेन्द्र कनोडियाका १६० र देशको आशा नामक पेजका १४७ वटा विज्ञापन फेसबुकमा देखिएका छन् ।

पार्टीगत रूपमा हेर्दा गतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका विभिन्न जिल्ला कमिटी र उमेदवारहरूले विज्ञापनमा लगानी गरेको देखिन्छ । काठमाडौं, मोरङ, दाङ र स्याङ्जा जस्ता जिल्लाहरूबाट विभिन्न उमेदवारका सचिवालयहरूले आ–आफ्ना पक्षमा माहोल बनाउन फेसबुकको सहारा लिए । पछिल्लो प्रवृत्तिलाई विश्लेषण गर्दै समाजशास्त्रीय अर्थशास्त्री डा. देवेन्द्र गौचन निर्वाचनका लागि गरेको यस्तो खर्च विवरणले नेपाली राजनीतिमा परम्परागत प्रचारको तुलनामा डिजिटल माध्यमको बढ्दो प्रभाव देखिएको औँल्याउँछन् । उनी भन्छन्, “विगत केही वर्षदेखि मोबाइल फोन र इन्टरनेटको पहुँच बढेसँगै डिजिटल मिडियाको प्रभाव ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा सूचना धेरै ठाउँमा पुग्ने भए तापनि यसले देशको अमूल्य विदेशी मुद्रा बाहिर पठाइरहेको छ ।”

1

Scroll to Top