भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो विद्युतीय ब्रान्ड ‘भिडा’ मार्फत औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकलहरू नेपालमा उपलब्ध गराउने घोषणा गरेको हो। हिरो मोटोकर्पकी इमर्जिङ मोबिलिटी बिजनेस युनिट प्रमुख कौशल्या नन्दकुमारले नेपाल विद्युतीय सवारीको उच्च सम्भावना भएको रणनीतिक बजार भएकाले अन्तर्राष्ट्रिय यात्राको पहिलो गन्तव्य नेपाललाई बनाइएको बताइन्।
कम्पनीले नेपाली बजारमा ‘प्लस’ र ‘गो’ गरी दुई संस्करणमा भीएक्स–२ स्कुटर सार्वजनिक गरेको छ। भीएक्स–२ प्लसमा ४।४ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ जसले एक पटकको चार्जमा करिब १४० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ भने यसको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर छ। त्यस्तै, भीएक्स–२ गो संस्करणमा २।२ किलोवाट–घण्टा क्षमताको ब्याट्री छ जसले करिब ७५ किलोमिटरसम्मको यात्रा र प्रतिघण्टा ७० किलोमिटरको गति दिन्छ। दुवै स्कुटरमा घरकै सामान्य ५ एम्पियरको सकेटबाट चार्ज गर्न सकिने सुविधाका साथै मोबाइल एप, नेभिगेसन र जियो–फेन्सिङजस्ता स्मार्ट फिचरहरू जडान गरिएका छन्।
किशोर तथा युवा राइडरहरूलाई लक्षित गर्दै कम्पनीले ‘भिडा डर्ट–ई के–३’ विद्युतीय अफ–रोड मोटरसाइकल पनि भित्र्याएको छ। प्रयोगकर्ताको उमेर र उचाइअनुसार तीनवटा फरक आकारमा समायोजन गर्न मिल्ने यस बाइकमा अभिभावकले मोबाइल एपमार्फत गति नियन्त्रण गर्न सक्ने विशेष सुविधा दिइएको छ। ३५० वाट क्षमताको मोटर र निकाल्न मिल्ने ब्याट्री जडान गरिएको यो मोटरसाइकलले प्रयोगका आधारमा करिब तीन घण्टासम्म सेवा दिने कम्पनीको दाबी छ।
सन् २०१४ देखि नेपाली बजारमा पेट्रोलबाट चल्ने सवारी साधनहरू बिक्री गर्दै आएको हिरो मोटोकर्पले अब विद्युतीय ब्रान्डमार्फत आफ्नो उपस्थिति थप विस्तार गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ तीव्र गतिमा अघि बढिरहेको सन्दर्भमा भिडाको यो आगमनले विद्युतीय दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।


