May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेपाल बैंकको नाफा ९२.६७ प्रतिशतले गिरावट

नेपाल बैंकको नाफा ९२.६७ प्रतिशतले गिरावट

चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट आएको देखिएको छ । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव को तेस्रो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेको देखिएको हो ।

Advertisement

बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ वाणिज्य बैंकको मात्र नाफा बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २० वटा वाणिज्य बैंकहरूको समग्रमा नाफा भने १३.४६ प्रतिशतले बढेको छ ।

Advertisement

गत वर्षको तुलनामा नेपाल बैंकको नाफामा ९२.६८ प्रतिशतले गिरावट आएको छ । गत वर्ष चैतमसान्तसम्ममा नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख २९ हजार नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफामा सीमित भएको छ । २० वटा वाणिज्य बैंकहरूको नाफा रकममध्ये नेपाल बैंकको नाफा सबैभन्दा कम पनि हो ।

गत वर्षको तुलनामा नाफा प्रतिशतका हिसाबले सबैभन्दा बढी कृषि विकास बैंकले र रकमको हिसाबले नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । कृषि विकास बैंकले ९ महिनाको अवधिमा २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९७२२ प्रतिशतले बढी हो ।

त्यस्तै, नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ४ अर्ब ६६ करोड ८ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको ९ महिनाको अवधिको तुलनामा ८.७५ प्रतिशतले कम हो ।

 

चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकको खराब कर्जा औसतमा ३.५१ प्रतिशत कायम भएको छ । बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा खराब कर्जा बढेको हो । गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा ०.६१ प्रतिशत विन्दुले बढेको हो । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा २.९० प्रतिशत थियो ।

चालु वर्षमा सर्वाधिक खराब कर्जा बढ्नेमा लक्ष्मी सन्राइज बैंक छ । यो बैंकको खराब कर्जा ३.६७ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको चैत मसान्तसम्म लक्ष्मी सन्राइजको खराब कर्जा १.८२ प्रतिशत थियो । त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा २.२३ प्रतिशत विन्दुले वृद्धि भएको छ । चैत मसान्तसम्म एनआईसी एसियाको खराब कर्जा ३.०८ प्रतिशत कामय भएको छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ०.८५ प्रतिशत थियो । गत वर्षको चैत मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा हुनेमा हिमालयन बैंक थियो । यो बैंकको गत वर्षको चैत मसान्तसम्म खराब कर्जा ४.५६ प्रतिशत थियो । यो वर्ष झनै बढेको छ । यो बैंकको खराब कर्जा गत वर्षको तुलनामा ०.४ प्रतिशत विन्दुले वृद्धि भएको छ ।

गत वर्ष सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको थियो । यो वर्षको सोही अवधिमा एभरेस्ट बैंकको खराब कर्जा ०.७ प्रतिशत कामय गर्न सफल भएको छ । चैत मसान्तसम्म ६ वाणिज्य बैंकले खराब कर्जा घटाउन सफल भएका छन् भने १३ बैंकको खराब कर्जा बढेको छ । खराब कर्जा घटाउनेमा सिद्धार्थ, कृषि विकास, नबिल, सानिमा, सिटिजन्स बैंक र एनएमबि बैंक छन् ।