Banijya News

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समावेशी राज्यको पक्षमा श्रम संस्कृति पार्टीको ९ बुँदे सुझाव

1
1.1K Shares

श्रम संस्कृति पार्टीले मुलुकको विद्यमान राजनीतिक अस्थिरता अन्त्यका लागि शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गर्दै ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ लाई आज नौ बुँदे लिखित सुझाव बुझाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङमार्फत सार्वजनिक गरिएको उक्त सुझाव पत्रमा विशेषगरी जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने कार्यकारी राष्ट्रपतीय प्रणालीको वकालत गरिएको छ, जसमा राष्ट्रपतिले नै आफूलाई उपयुक्त लाग्ने दक्ष व्यक्तिहरू छनोट गरी मन्त्रिपरिषद् गठन गर्न पाउने व्यवस्था हुनुपर्ने उल्लेख छ।

यसरी मन्त्रिपरिषद् गठन गर्दा पूर्ण समावेशिताको सिद्धान्तलाई अनिवार्य आधार बनाउनुपर्ने धारणा अघि सार्दै पार्टीले यसबाट मात्रै राज्यका सबै समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित हुने र शासनमा स्थायित्व आउने दाबी गरेको छ। शक्ति सन्तुलन र जवाफदेहिताका सन्दर्भमा पार्टीले व्यवस्थापिकाको भूमिकालाई प्रभावकारी बनाउन पाँच बुँदे विशेष मार्गचित्र प्रस्तुत गरेको छ, जसमा कार्यकारी प्रमुखको अधिकारको स्पष्ट सीमा निर्धारण गर्ने र संविधानमै ‘निरंकुशता’ को व्याख्या गरी त्यसलाई नियन्त्रण गर्ने संयन्त्रको माग गरिएको छ।

यदि कार्यकारी प्रमुखले संविधानको बर्खिलाप गरेमा वा निरंकुश बन्ने चेष्टा गरेमा संसद्ले महाअभियोग लगाउन सक्ने र संसदद्धारा त्यस्तो प्रस्ताव पारित भएमा कार्यकारी प्रमुख तत्काल पदमुक्त हुने संवैधानिक व्यवस्था हुनुपर्ने सुझावमा उल्लेख छ। साथै, राजनीतिक पदहरूदेखि लिएर नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवा लगायत राज्यका सबै कर्मचारी संयन्त्र र अङ्गहरूमा मुलुकका सबै जातजाति र समुदायको जनसङ्ख्याका आधारमा न्यायोचित सहभागिता सुनिश्चित गरिनुपर्ने विषयलाई श्रम संस्कृति पार्टीले मुख्य मागको रूपमा अघि सारेको छ।

1

Scroll to Top