Banijya News

उच्च ब्याजदरले त्रिवेणी स्पिनिङ मिल्स खुद घाटामा, व्यापार भने साढे ३ अर्ब

1
1.0K Shares

सङ्घाई परिवारद्वारा सञ्चालित त्रिवेणी स्पिनिङ मिल्सले भारततर्फको निर्यातमा आएको उत्साहजनक वृद्धिका कारण एकै वर्ष साढे ३ अर्ब रुपैयाँ बराबरको व्यवसाय (कारोबार) गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गर्दै अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतको सप्रप्रद वृद्धि हासिल गरेको हो।

यसअघि सन् २०२४ मा २ अर्ब ४३ करोड ४० लाख र सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। कम्पनीको कुल व्यापारमा वैदेशिक निर्यातको हिस्सा निकै बलियो देखिएको छ, जहाँ गत आवको कुल कारोबारमध्ये भारत र टर्कीतर्फ मात्रै ८४ प्रतिशत हिस्सा ओगटेको छ। व्यापार विस्तारको यो लय चालू आर्थिक वर्षमा पनि जारी रहँदा सुरुवाती १० महिनामै कम्पनीले २ अर्ब ६४ करोड ९० लाख रुपैयाँको कारोबार गरिसकेको छ।

व्यापार बढेसँगै कम्पनीको सञ्चालन नाफा सुधारिएर गत आवमा ४.०४ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा २.११ प्रतिशत मात्रै थियो। तर, सञ्चालन नाफामा सुधार आए पनि उच्च ब्याजदरको खर्चका कारण कम्पनीले खुद घाटा नै व्यहोर्नुपरेको छ, जसले गर्दा कुल नगद सञ्चय नकारात्मक रहन पुगेको छ। पुँजी संरचनामा उच्च ऋणको चाप रहँदा कम्पनीको समग्र गियरिङ अनुपात ३.७८ गुणा पुगेको छ। लगातारको घाटाले ट्यान्जिबल नेटवर्थ घटाउँदा यस्तो अवस्था आएको कम्पनीले उल्लेख गरेको छ। यद्यपि, ऋण भुक्तानी क्षमतामा केही सुधार आउँदै ब्याज भुक्तानी क्षमता ०.७१ गुणा पुगेको छ, तर यो अझै मध्यम स्तरमै मानिन्छ।

सन् १९९५ मा स्थापित भई सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस उद्योगको वार्षिक उत्पादन क्षमता १८ हजार मेट्रिक टन रहेको छ। रामचन्द्र संघई अध्यक्ष रहेको यस कम्पनीले पोलिस्टर, भिस्कोस र एक्रेलिक ब्लेन्डेड धागो उत्पादन गर्दै आएको छ भने हालै दीर्घकालीन र अल्पकालीन गरी कुल ३ अर्ब ३ करोड ७० लाख रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणसँगको डेडिकेटेड फिडर महसुल विवादमा कम्पनीको सम्भावित दायित्व पुनर्मूल्याङ्कन गरी ३२ करोड १० लाख रुपैयाँ कायम भएको छ, जुन यसअघि ८६ करोड ९० लाख रुपैयाँ दाबी गरिएको थियो। उक्त संशोधित रकम २८ किस्तामा बुझाउनुपर्ने व्यवस्थाअनुसार कम्पनीले हिमालयन बैंकमार्फत पहिलो किस्ताबापत १ करोड १४ लाख रुपैयाँ धरौटी जम्मा गरिसकेको छ।

1

Scroll to Top