नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका प्रविधि तथा उपकरण खरिद प्रक्रियामाथि उठेका प्रश्नहरूको छानबिन गर्न सूचना तथा सञ्चार मन्त्रालयले एक उच्चस्तरीय समिति गठन गरेको छ। २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित यो चार सदस्यीय छानबिन समितिले संस्थाले खरिद गरेका सफ्टवेयर, डिजिटल प्रणाली र उपकरणहरूसँग सम्बन्धित उजुरी एवं सार्वजनिक चासोका विषयहरूको तथ्यपरक अध्ययन गर्नेछ।
विगत केही वर्षयता नेपाल टेलिभिजनको आधुनिकीकरणका क्रममा भएका खरिदहरूमा पारदर्शिता र कानुनी प्रक्रिया पालना नभएको भन्दै विभिन्न निकायमा गुनासाहरू परेपछि मन्त्रालयले आफ्नो आन्तरिक जानकारीका लागि यो कदम चालेको हो र समितिलाई २१ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यस समितिलाई विशेषगरी नेपाल टेलिभिजनको ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो/भिडियो उपकरण, डिजिटल ट्रान्समिटर र इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ को विस्तृत खोतल्ने कार्यादेश दिइएको छ। सरकारी सञ्चार माध्यमभित्र प्रविधि खरिदका नाममा अपारदर्शिता बढेको गुनासो आइरहँदा मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको देखिन्छ।
यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे यस्तै छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो, जसले गर्दा अहिलेको समितिलाई पनि एनटिभीभित्रको खरिद प्रणाली सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।


