सुक्खा यामको मागलाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप एक–एक सय मेगावाट बिजुली किन्न गरेको टेन्डरमा कुनै आवदेन परेको छैन । पहिलोपटक आह्वान गरेको टेन्डरमा कुनै पनि भारतीय कम्पनी बिजुली दिन तयार नभएपछि प्राधिकरणले फेरी दोस्रोपटक टेन्डर आह्वान गरेको छ । प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न जनवरी १९ देखि २८ तारिख (४ माघदेखि १४ माघ)सम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । विद्युत्को खरिद दर अधिकतम ६.९० भारु तोकिएको टेन्डरमा कुनै पनि प्रस्ताव परेको थिएन ।
त्यसपछि प्राधिकरणले सोही मूल्यमै अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा १००–१०० मेगावाट विद्युत् खरिद गर्न शुक्रबार नयाँ टेन्डर आह्वान गरेको हो । प्रतियुनिट मूल्य ६.९० भारु नकट्ने गरी प्रस्ताव माग गरिएको छ । २४ घण्टा नै विद्युत् खरिद गर्ने गरी प्रस्ताव आह्वान गरिएको छ । यसमा भारतका विद्युत् व्यापार कम्पनी सहभागी हुन सक्नेछन् । प्रस्ताव पेस गर्ने अवधि १० फागुन (२२ फेब्रुअरी)सम्म रहेको छ । प्रस्ताव पेस गर्ने कम्पनीले १०० मेगावाट नबढ्ने गरी न्यूनतम २५ मेगावाट र त्यसले भाग जाने परिमाणमा प्रस्ताव पेस गर्नुपर्नेछ । अर्थात्, २५ मेगावाट, ५० मेगावाट, ७५ मेगावाट वा १०० मेगावाट विद्युत् उपलब्ध गराउने गरी प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव पेस गर्ने कम्पनीले ५० लाख भारु धरौटी पनि राख्नुपर्नेछ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले पुरानो टेन्डरमा प्रस्ताव नपरेपछि पुनः नयाँ टेन्डर आह्वान गरेको बताए । प्राधिकरणले महँगो दरमा विद्युत् आयात गर्ने गरी प्रस्ताव आह्वान गरेको छ । तर, त्यही मूल्यमा विद्युत् पाउन पनि चुनौती हुने देखिएको छ । विद्युत्को आन्तरिक व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको प्राधिकरणले बताएको छ । यद्यपि, प्राधिकरणले तोकेकै मूल्यमा बिजुली पाउनसमेत चुनौती रहेको उनले बताए ।
बर्खामा विद्युत् निर्यात गर्न सक्ने नेपाल सुक्खा याममा भने आयातमै निर्भर हुनुपर्छ । सुक्खा याममा भारतबाट विद्युत् ल्याएर आन्तरिक माग व्यवस्था गरिन्छ । अहिले पनि प्राधिकरणले भारतको पिटिसी इन्डियाबाट स्थिर मूल्यमा एक सय ८० मेगावाट विद्युत् आयात गरिरहेको छ । दैनिक २४ घण्टा नै विद्युत् खरिद गर्ने यो सम्झौताको म्याद मेसम्म छ । यसैगरी इन्डियन इनर्जी एक्सजेन्जबाट प्रतिस्पर्धी मूल्यमा ६ सय ५४ मेगावाटसम्म विद्युत् खरिद गर्न पाइन्छ । २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने गरी भारतले दिएको यसको अनुमतिको अवधि भने १७ चैत (३१ मार्च)सम्म छ ।
त्यसपछि भारतले कुन मोडेलमा विद्युत् खरिद गर्न दिन्छ भन्नेमा अन्योल छ । भारतले यसअघि रातिको समय वा पिक आवरमा विद्युत् खरिद गर्न दिने गरेको थिएन । १७ चैतसम्म २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने भए पनि त्यसपछि कुन मोडेलमा स्वीकृति पाइन्छ भन्नेमा अन्योल छ । भारतले २४ घण्टा नै विद्युत् नदिएको अवस्थामा पिटिसी इन्डियाबाट आउने एक सय ८० मेगावाट विद्युत् पर्याप्त हुँदैन । त्यसैले गर्दा प्राधिकरणले अप्रिल र मेमा थप थप १०० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गर्न खोजेको छ । तर, भारतबाट विद्युत् पाउनेमा चुनौती छ ।
भारतमा पनि हिउँदको समयमा विद्युत् उत्पादन कम र माग बढी हुन्छ । त्यसमाथि अप्रिल–मेको समयमा भारतमा पनि विद्युत्को माग धेरै हुन्छ । त्यहाँ उपलब्ध हुने विद्युत् अहिले नै बुकिङ भइसकेको छ । त्यो वेलामा विद्युत् महँगो पनि हुन सक्छ । त्यही कारण अघिल्लो टेन्डरमा आवेदन नपरेको प्राधिकरणको विश्लेषण छ । यद्यपि, छुटपुट, मौज्दात वा रद्द भएको विद्युत् पाउने आशामा प्राधिकरणले पुरानै दरमा नयाँ टेन्डर आह्वान गरेको हो । तर, विद्युत् पाउने सम्भावना अझै पनि न्यून रहेको जानकारवाला बताउँछन् ।न्ने टेन्डरमा भारतीय कम्पनिले देखाएनन् चासो


