राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा पार्टीका सांसदहरूको कार्यक्षेत्र तोक्दै विशेष जिम्मेवारी सुम्पिएको छ। पार्टी केन्द्रीय समितिको पछिल्लो बैठकले संगठनलाई चुस्त बनाउन र नागरिकका समस्यामा प्रत्यक्ष जोडिन भन्दै निर्वाचन क्षेत्र स्तरमा सांसदहरूलाई परिचालन गर्ने निर्णय गरेको हो ।
रास्वपाको यो कार्यविभाजनमा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई उनीहरूले जितेकै क्षेत्रको जिम्मेवारी दिइएको छ। प्रत्यक्ष सांसद नभएका बाँकी निर्वाचन क्षेत्रहरूमा भने समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई खटाइएको छ। यस निर्णयसँगै रास्वपाले आफ्ना सांसदहरूमार्फत देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा संसदीय र संगठन विस्तारका गतिविधिहरूलाई एकीकृत गर्ने लक्ष्य लिएको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार, प्रत्यक्ष निर्वाचनमा परिणाम आफ्नो पक्षमा नआएका क्षेत्रहरूमा नागरिकको आवाज संसदसम्म पुर्याउन र पार्टीको नीतिगत उपस्थितिलाई बलियो बनाउन समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूका लागि समानुपातिक सांसदहरूको सूचीबाट जिम्मेवारी तोकेको छ। सो जिम्मेवारीको विस्तृत विवरण आम नागरिक र सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको छ।’
सांसदहरूलाई तोकिएको यो नयाँ जिम्मेवारीले जनताको गुनासो सुन्ने, स्थानीय विकासका मुद्दाहरू बुझ्ने र संसदीय कार्यमा नागरिक सहभागिता बढाउने अपेक्षा रास्वपाले गरेको छ।


