May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सरकारले बनाउने नीति तथा कार्यक्रममा ‘ग्रीन’ अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत

सरकारले बनाउने नीति तथा कार्यक्रममा ‘ग्रीन’ अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रीन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

Advertisement

उनले नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए । नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे ।

Advertisement

उर्जामन्त्री बस्नेतले विश्व ग्रीन अर्थतन्त्रमा गइसकेको बताए । नेपालसँग भएका पेट्रोलियम पदार्थलगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । आफूसँग भएका स्रोतको सही ढंगले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी समेत गरे ।

“पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढंगले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ । स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रीन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ,” उनले भने ।

मन्त्री बस्नेतले नेपाल ग्रीन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको बताए ।