April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

नेपालबाट १ खर्ब ८ अर्बको सामान निर्यात

नेपालबाट १ खर्ब ८ अर्बको सामान निर्यात

जेठ १०, काठमाडौं ।
चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनासम्म आइपुग्दा निर्यातको वृद्धि ३२.१९ प्रतिशत देखिएको छ ।

Advertisement

गत आर्थिक वर्ष २०७६÷७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको थियो । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो ।

Advertisement

यो वर्ष निषेधाज्ञाका बीचमा समेत खासगरी वैशाख महिनामा नेपालबाट वस्तु निर्यातमा उल्लेख्य प्रगति देखिएको छ । यो वर्ष वस्तु निर्यातमा भट्टमासको तेलसहित तेलजन्य वस्तुको मूख्य भूमिका छ । कफी चिया र कार्पेटमा समेत उल्लेख्य वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात समेत बढेको छ । नेपालको वैदेशिक व्यापार डेनमार्क, इथोपिया, होन्डुरस, आइल्याण्ड सहित २७ देशसँग नाफामा रहेको छ ।

झण्डै साढे ११ खर्ब व्यापार घाटा
आर्थिक वार्षको १० महिनामा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ ।

१० महिनामा भारतसँग मात्र ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजारबराबर व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोडको आयात हुँदा ७९ अर्ब ३२ करोड ७४ लाखबराबर मात्र निर्यात भएको छ । भारतपछि चीनसँग १ खर्ब ८२ अर्ब २९ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ चालू आवमा ८९ करोड ७६ लाख २६ हजारको मात्र निर्यात भएको छ ।

यसैगरी, अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड ७९ लाख र संयुक्त अरब इमिरेट्सँग ३० अर्ब २२ करोडको व्यापार घाटा रहेको छ । युुक्रेनसँग १३ अर्ब १५ करोड, इन्डोनेसियासँग १३ अर्ब १४ करोड र क्यानाडासँग १२ अर्बको व्यापार घाटा छ । व्यापार घाटा रहेका मुलुकमा दक्षिण कोरिया, दक्षिण अफ्रिका, मलेसिया, थाइल्यान्ड छन् । अन्य मुलुकमा साउदी अरेबिया, भियतनाम, बंगलादेश, पाराग्वे, सिंगापुर, जापना, ओमान र अमेरिका क्रमिक रूपमा छ ।

आयात २२.३४ प्रतिशत वृद्धि

तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशतको वृद्धि देखिएको विभागले जनाएको छ । यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको थियो । १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षभन्दा १३ अर्ब रुपैयाँभन्दा बढी हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ । त्यस्तै, १० महिनामा १ खर्ब २१ अर्बको आइरन र स्टिल, १ खर्बको मेसिनरी सामग्री, ८२ अर्बको गाडी र पाटपुर्जा, २६ अर्बको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ ।