April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

अस्पताल र स्वास्थ्य संस्थाहरुलाई ५० करोड रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय

अस्पताल र स्वास्थ्य संस्थाहरुलाई ५० करोड रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय

वैशाख २०, काठमाडौं ।
कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । विषयगत मन्त्रालयहरुबाट समर्पण भएको एवं आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट ५० करोड रुपैयाँ अस्पताल र स्वास्थ्य संस्थाहरुलाई दिने भएको हो । सरकारको प्रवक्ता विमला केसीका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रत्येक जिल्ला अस्पतालहरुमा एक करोडका दरले उक्त रकम उपलब्ध गराइने भएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा एक करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक करोड, चौरजहारी अस्पताल रुकुममा एक करोड, मेहेलकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५० लाखका दरले दिने भएको छ । यो रकम कोरोनासँग सम्बन्धित समस्याहरु समाधान गर्न अति आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट दिने निर्णय गरेको भएको हो ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयले कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुने घरपरिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो । सामाजिक विकास मन्त्रालयले आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम दिईने सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

Advertisement