April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

साेमनाथ लामिछाने

Advertisement

‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको कीर्तिमान नै राख्ने गरी तयारीमा जुटेको जनाएको छ ।

Advertisement

निगमले थालेका पछिल्ला कार्यमध्ये सुधारको नमूनाका रुपमा थानकोट डिपोलाई लिन सकिन्छ । केही समय पहिलासम्म अस्तव्यस्तरुपमा रहेको वाग्मती प्रदेशको प्रादेशिक कार्यालयसमेत रहेको सो कार्यालय अहिले एउटा नमूना कार्यालयकैरुपमा दर्ज हुन सफल पनि भएको छ । कार्यालय परिसर चिटिक्क पारिएको छ । अस्तव्यस्तरुपमा बाटोभरि पार्क गर्ने गरिएका तेल बोक्ने ट्याङकरहरु अहिले ढलान गरिएको आफ्नै पार्किङमा लाइनमा राखेको देख्न सकिन्छ ।

दश वर्ष पहिले थानकोट डिपोबाट दैनिक करीब १० गाडी पेट्रोल, १५ गाडी डिजेल र २–४ गाडी मट्टितेल खपत हुन्थ्यो । तर पछिल्ला १० वर्षमा यी इन्धनको खपत ह्वात्तै बढेको छ । अहिले १०० गाडीको हाराहारीमा दैनिक कारोवार हुने गरेको छ । अहिले दैनिक एक हजार ५०० देखि दुई हजार किलोलिटर इन्धन यहाँबाट बाहिरिन्छ । यसका लागि निगमको क्षमता बढाउनुको विकल्प थिएन । नियमित मर्मतसम्भार हुन नसक्दा डिपोको अवस्था नाजुक थियो । सेवाग्राहीको सङ्ख्या पनि व्यापकमात्रामा बढेको छ । पेट्रोलियम पदार्थ निकै संवेदनशील हुने भएकाले पनि उचित सुरक्षा र सरसफाइ जरुरी हुन्छ, र त्यसमा निकै कमी पाइएको थियो ।

डिलर, पम्पलाई राम्रो बनाउनुपर्छ भनेर दबाब दिने निगम स्वयंको डिपो भने कवाडजस्तो अवस्थामा राख्नुहुन्न भन्ने सोचाइका साथ सुधार र मर्मतसम्भारका कामलाई अघि बढाइएको निगमले जनाएको छ ।

थानकोट डिपोका कार्यालय प्रमुख ई प्रदीप कुमार यादव भन्नुहुन्छ, “सरकारी कार्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा टुटेफुटेका झ्याल, ढोका र फोहर शौचालयको तस्वीर आउँछ । विगतमा सरकारी कार्यालयको आवश्यक मर्मत र सम्भार नहुँदा मानिसको दिमागमा यस्तो पर्न गएको हो । तर अहिले यहाँ आइपुग्ने सेवाग्राही निकै प्रसन्न छन् । काममा छिटोछरितो भएको छ, सेवाग्राहीले तुरुन्त सेवा पाउने वातावरण बनेको छ । पहिले एक घण्टा लाग्ने काम अहिले १०–१५ मिनेटमै हुने गरेको छ ।”

भौतिक सुधारका लागि थानकोट डिपोमा यस वर्ष झण्डै पाँच करोड खर्चिएको निगमले सुधारका कार्यलाई व्यापकता दिएको छ । कार्यालय प्राङ्गण सफा सुग्घर हुनुका साथै क्यान्टिन, सभाहल, प्रतीक्षालय, शौचालयसमेतका आधारभूत पूर्वाधार निर्माण भएका छन् । स्थानीयवासीले सधैँ गुनासो गर्दै आएको पार्किङको विषय पनि अहिले सुल्झिएको छ । थानकोटको राजमार्गदेखि निगमको डिपोसम्मको करिब ३०० मिटर भित्री बाटोमा १०० देखि १५० वटा बढी ट्याङ्कर दिनभर पार्क गरिन्थ्यो । बाटोमा एम्बुलेन्स, विद्यालयका बससमेत गुड्ने अवस्था पनि हुँदैनथ्यो । स्थानीयवासीका लागि पनि टाउको दुखाई हुँदै आएको यो समस्या निगमले अहिले सुल्झाएको छ । अहिले निगमकै झण्डै ६० रोपनी जग्गाभित्र पूर्वतर्फ झण्डै ३०० वटा ट्याङ्कर अटाउने व्यवस्थित पार्किङ स्थल बनाइएको छ ।

डिपोभित्र तेल जाँच गराउन पुगेका एक ट्याङ्कर चालक मनोज अधिकारी भन्नुहुन्छ, “दश महिना पहिले यहाँ सेवा लिन घण्टौँ बस्नुपथ्र्यो । तेल खन्याउन र भर्न आफ्नो पालो कहिले आउला भनेर कुर्नुपथ्र्यो । अहिले त्यस्तो छैन । आफ्नो कागज पेश गरेर टोकन लियो, पालैपालो सेवा लियो । ‘सिस्टम’ बसेको छ । डिपोले दिने सेवामा ८० प्रतिशतभन्दा बढी सुधार आएको छ ।”
निगमले कार्यक्षमतामा सुधार ल्याउन गरेको अर्को प्रयास हो लोड–अनलोड सेड निर्माण । करीब रु एक करोडको लागतमा निगमले यसै वर्ष तीन वटा सुविधा सम्पन्न र अग्नि सुरक्षित सेड निर्माण गरेको छ । निगमसँग यसअघि सात वटा सेड थिए, अर्थात् एकपटकमा सात वटा ट्याङ्करमा तेल भर्न सकिन्थ्यो । तर अब १० वटासम्म ट्याङ्करमा एकसाथ तेल पर्न सकिन्छ । सुरक्षात्मक उपाय मजबूत बनाइएका यी प्रत्येक सेडबाट १५–२० मिनेटभित्रै एक ट्याङ्कर तेल भर्न सकिन्छ ।

यादव भन्नुहुन्छ, “यो संवेदनशील स्थान भएको हुनाले हामी यसमा सचेत छौँ । यहाँ हामीले सुरक्षाका सबै उपायहरु अवलम्बन गरेका छौँ । दमकललगायतका सबै कुरा तयारी अवस्थामा हुन्छन् । यहाँ आगलागी भए पनि दुई मिनेट भित्रै निभाउन सक्ने क्षमता निगमसँग छ ।”
सेवाग्राहीको सजिलोका लागि अहिले टोकन प्रणाली राखिएको छ । सबै काम कम्प्युटर प्रणालीमा हुने हुनाले कुनै समस्या हुँदैन र काममा छिटो हुन्छ । डिलर र ट्रान्सपोर्टरलाई कुनै समस्या हुँदैन । घण्टाँै पखर्नुपर्ने काम केही समयमा नै हुन्छ । त्यसैले चाह्यो भने काम गर्ने तरिका या प्रणालीमै परिवर्तन गर्न सकिने यादव बताउनुहुन्छ । उहाँको धारणा छ तर त्यसको लागि इच्छा शक्तिको भने आवश्यकता पर्दछ ।

निगमका डिपोहरु अटोमेसन हुँदै

इन्धन वितरणमा सहजता ल्याउन र विश्वासिलो बनाउन डिपो स्वचालित (अटोमेसन)मा जानुको विकल्प छैन । अटोमेसन भनेको डिपोका ठूला ट्याङ्करमा तेल भर्ने, लोड–अनलोड कम्प्युटरीकृत गर्ने तथा सम्पूर्ण कारोवार विद्युतीय प्रणालीमा गर्ने हो । यसो गर्दा निगमको सम्पूर्ण कार्य प्रक्रिया पारदर्शी बनाउन सघाउ पुग्छ । इञ्जिनीयर यादव भन्नुहुन्छ, “अहिले हामीसँग म्यानुएल विधि छ, मान्छेले सबै नाँपजाँच गर्नुपर्छ । अटोमेसन भएपछि कम्प्युटरले सबै नियन्त्रण गर्दछ, मान्छेको भूमिका कम हुन्छ । जस्तो कि अहिले १२ हजार लिटर तेल दिनु परे मान्छेले नापेर दिन्छन् तर अटोमेसनमा गएपछि कम्प्युटरले नापेर दिन्छ, १२ हजार पुगेपछि रोकिन्छ र स्वचालितरुपमा बिल बन्छ ।”

निगमको निकै महत्वाकाङ्क्षी यो योजना निकै अघि बढिसकेको ई. यादवको भनाइ छ । निगमले डिपोलाई अटोमेसनमा लैजान कस्ता किसिमका उपकरण चाहिन्छ, कहाँकहाँ परिवर्तन गर्नुपर्छ, के कति खर्च लाग्छ, त्यसका लागि परामर्शदाता छनोटको काम अगाडि बढाइसकेको छ । हाल परामर्शदाता छनोटका लागि मूल्याङ्कन प्रक्रियामा रहेको निगमले जनाएको छ । ई. यादवको भनाइमा परामर्शदाता छनोट भइसकेपछि एक वर्षभित्रै मोडालिटी तयार हुन्छ, र कुनै अवरोध नआए दुई वर्षभित्रै निगमका डिपो पुरै अटोमेसनमा गइसक्छन् ।

“अटोमेसनमा जाँदा निगमको हालको छविमा पनि व्यापकमात्रामा सुधार आउनेछ । तेल वितरणमा विगतमा उठाइने कैयौँ आशङ्का र प्रश्नलाई यसले सम्बोधन गर्नेछ । निगमका अनुसार हालको म्यानुएल विधिबाट काम गर्दा निगमका कर्मचारीमाथि तेल कम दियो, अथवा अन्य गुनासा हुने गर्दथे, अटोमेसनले त्यसलाई सम्बोधन गर्नेछ भने सेवाग्राहीमा पनि विश्वासको वातावरण बन्ने निगमको विश्वास छ । डिलरले पनि राम्रो सेवा पाउँछन् भने कर्मचारी पनि सुरक्षित हुन्छन्”, ई. यादव भन्नुहुन्छ ।

भण्डारणका लागि डिजेलको आठ हजार ४०० किलोलिटर, पेट्रोलको छ हजार २०० किलोलिटर र मट्टितेलको ७६० किलोलिटरका ट्याङ्कर छन् । उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा डिजेल १० दिन र पेट्रोल एक हप्ताका लागि पुग्छ । तर हामी पेट्रोलका लागि करीब ५५ देखि ६० करोडको लागतमा चार÷चार हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क बनाउने क्रममा छौँ र यसको टेन्डर एक महिनाभित्रै गर्ने तयारी छ । यो ट्याङ्क बनेपछि थानकोट डिपोले २० दिनका लागि पेट्रोल आपूर्ति गर्न सक्नेछ ।”

डिजेल आपूर्तिमा भने निगमलाई कुनै समस्या नरहेको ई. यादवको भनाइ छ । उहाँका अनुसार अमलेखगञ्ज डिपोसम्म भारतबाट पाइपमार्फत निर्वाधरुपमा डिजेल आपूर्ति भइरहेको हुन्छ । पेट्रोल भने निगमले भारतको रक्सौल र बरौनी डिपोबाटै ल्याइरहेको छ । खासगरी अमलेखगञ्ज डिपोमा पेट्रोल भण्डारणका लागि पर्याप्त ट्याङ्क नभएकाले पाइपबाट पेट्रोल ल्याउने कार्य शुरु भइसकेको छैन । यादवका अनुसार चाँडै निगमले अमलेखगञ्जमा डिपो बनाउँदैछ, र त्यो बनेपछि सीमामा कुनै कठिनाइ भए पनि पेट्रोल र डिजेल दुवैको आपूर्ति नेपालभित्र नियमित र सुलभ हुनेछ ।

थानकोट डिपोले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कूल १० जिल्लाका लागि पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । निगमका अनुसार थानकोट डिपोका लागि भारतबाट ४२५ वटा ट्याङ्करले तेल ओसार्न अनुमति पाएका छन् । यस डिपोबाट तेल लिएर बिक्री गर्ने काठमाडौँ उपत्यकामा १२० तथा उपत्यका बाहिरका ६० वटा बिक्रेता छन् ।

रणनीतिक महत्व राख्ने इन्धनको भण्डारण, व्यवस्थापन र वितरणका कार्यलाई अधिकारिक पारदर्शी बनाउनसके निगमको विश्वसनीयता बढ्नेमा कुनै शङ्का छैन । यसो गर्न सकिएमा ई.यादवले भनेजस्तै इन्धन आपूर्तिका क्षेत्रमा कार्यरत नेपालको एकमात्र संस्था यस आयल निगमको अहिलेको छविमा त सुधार आउँछ नै यसले पारदर्शिताको विकास भई यस संस्थाप्र्रति नेपाली नागरिकको विश्वास पनि बढ्न जानेछ ।